Banner News

विभिन्न दलका नेता तथा कार्यकर्ता काठमाण्डौ –५ एमालेमा प्रवेश गर्दै



काठमाडौं, २४ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आज विभिन्न दलका नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्नेहरुमा गत वैशाखमा राप्रपाबाट २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको केशब डंगोल, गत वैशाखको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको लुच्छे महर्जन, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएको दिनेश प्रधान, नेपाली कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति, आशिष महर्जन रहनुभएको छ ।

त्यसैगरी राप्रपाका स्थानीय नेता विनोद राई, सानु लामा पनि एमाले प्रवेश गर्नुभएको छ । माओवादीका नेता प्रभाग मगर, राज गौतम, आलेक मगर, रुसल श्रेष्ठ, कुशल बगजाईं, अंकित चौलागाईं, आंश्विन क्षेत्री, राम भुसाल, इशान कार्की एमाले प्रवेश गर्नुभएको हो । त्यसैगरी जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय, विमला पाण्डे पनि एमालेमा सामेल हुनुभएको छ ।

उक्त क्षेत्रका युवाहरु सबल प्रजापति, नारायण महर्जन र सोनु तामाङ पनि एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ ९१० का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले टिका लगाएर प्रवेश गराउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताउनुभएको छ ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाब जित्नुपर्ने बताउनुभयो । रोजगारीको प्रसंग उल्लेख गर्दै पोखरेलले भन्नुभयो,‘यदी यो देशमा युवाहरुले रोजगारी प्राप्त गर्न पाएनन् भने यो देश सकिन्छ । युवाहरु उत्पादनमुखी काममा लाग्नुपर्छ । रोजगारीका लागि उद्योगधन्दा खोल्नुपर्छ ।’

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको पोखरेलले स्मरण गराउनुभयो । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरेर तराई–मधेशका २० वटा जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुर्याउने निर्णय गरेको पोखरेलले सुनाउनुभयो ।

दैलेखमा ग्यास खानी उत्खनन्का लागि चिनियाँ विशेषज्ञ ल्याएर अध्ययन सुरु गरेको, नवलपरासीमा फलाम उत्पादनको काम सुरु भएको पनि पोखरेलले बताउनुभयो । ‘एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यास भयो । एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो । यो एमालेका नेता ओलीले गरेको हो । उहाँसँग देश बनाउने सपना छ,’ उहाँले भन्नुभयो ।

सुकुम्बासी समस्या समाधान गर्नका लागि एमाले सरकारले नै भूमि आयोग बनाएको तर गठबन्धनले बेकामे बनाएर थन्क्याएको पोखरेलले बताउनुभयो । अब एमालेको सरकार बनेपछि भूमि आयोगको काम अघि बढाउने पोखरेलको प्रतिबद्धता छ । अहिले गठबन्धन सरकारले केही काम गर्न नसकेको पोखरेलको आरोप छ । ओली प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले त्यसबेला सिङ्गो मुलुकलाई एकढिक्का बनाउने काम भएको बताउनुभयो ।

तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा मेटाएर बुच्चे नक्सा बनाएको भन्दै निन्दा र भत्र्सना गरे । गठबन्धनका नेताहरुले चुच्चे नक्सा मेटेर देशद्रोही काम गरेको पोखरेलको आरोप छ । ‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो । अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो ।’ पोखरेलले थप्नुभयो ।

पोखरेलले नागरिकता सम्बन्धमा बिचार नपुर्याउने हो भने देश सिक्किम बन्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘उत्तरतिर चीन र दक्षिणतिर भारतले घेरेको छ । ति देशबाट दैनिक नेपाल आउने मान्छेलाई नागरिकता वितरण गर्न थालियो भने यो देश सिक्किम बन्छ । त्यसैले नागरिकता वितरणको कुरालाई ख्यालठट्टा गर्नुहुँदैन ।’ एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पार्नुभयो । देश बचाउनका लागि आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो ।