काठमाडौँ, २९ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच भेटवार्ता भएको छ ।
मेयर साहलाई भेट्न आज साहको कार्यकक्षमा पुगेका राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।
सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए । फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै मेयर साहले भने, ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दीगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’
फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्