काठमाडौँ, ३० कार्तिक । कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।
निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो । शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।
शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका थिए । साथै उनले उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै स्पष्टीकरण पेश गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्