बैतडी, ३ मंसिर । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा गोविन्दनाथ योगी अहिले ७९ वर्ष पुगे । २००१ सालमा जन्मिएका उनी २०५६ सालअघिका एक दर्जन बढी चुनाव लडेका व्यक्ति हुन् । नाथलाई प्रधानपञ्चदेखि सांसदसम्म चुनाव लडेको अनुभव छ । नाथले कतिपय चुनावमा सफलता प्राप्त गर्दा केही चुनावमा पराजित भए । उनी गाउँमा प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सफल भए । सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी २०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिह्न लिएर तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग प्रतिस्पर्धामा उत्रिए । त्यसपछि भने उनी चुनाव लडेका छैनन् ।
‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा ५ लाख आउँथ्यो भने गाउँ पञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो, उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुन्थ्यो’ नाथले भने । नाथ विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । यसका साथै, भोकमरीका बेला अमेरिकी मकै वितरण गरेको बताउँछन् । एकपटक चुनाव लड्दा सुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफूलाई सुरक्षाको चुनौती रहेको बताएका थिए ।
नाथ अहिले भने नेकपा एमालेलाई साथ दिँदै आएका छन् । अहिले, सदस्यता कुनै पार्टीको नभएको बताउने उनी बूढापाकाको सहारा हो भन्दै एमालेको पक्षमा भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनको नेतृत्व गरेको बताउँछन् । उति बेला नेता भइदिनुपयो भन्दै गाउँलेहरू एक जनालाई अगाडि बढाउँथे, अहिले नेता बन्न लडाइँ हुने गर्छ । जसको घरमा बढी धान हुन्छ, उसैलाई प्रधान भन्ने चलन थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्