काठमाडौँ, १० मंसिर । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको छ ।
प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने छ । उनले भने, “काठमाडौँ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ । उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेका हौँ ।’
काठमाडौँ उपत्यकामा आव २०७८/०७९ मा तीव्र गतिका कारण तीन हजार ३४३ सवारी दुर्घटना भएको सो कार्यालयले जनाएको छ । प्रवक्ता भट्टले चालू आवमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३५२ सवारीसाधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताए । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ । उनले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने १७० चालकलाई कारबाही गरिएको जानकारी दिए । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्