राजनीति

म रौतहट, प्रचण्ड गोरखा नगएको भए हामीलाई नै उछिट्याउने रहेछन्: अध्यक्ष नेपाल



काठमाडौँ, ११ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु गृहजिल्ला रौतहट नगएको भए मंसिर ४ को निर्वाचनमा हार हुने स्वीकार गर्नुभएको छ ।

रौतहटबाट चुनाव जितेर काठमाडौँ अध्यक्ष नेपालले फर्किएपछि सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उहाँलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन् । प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

२०७४ मा काठमाडौँ–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट जानुभएको थियो । स्थानीय तह निर्वाचनमा उहाँको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोज्नुभएको थियो । काठमाडौँ २ मा भने रवी लामिछानेको स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहठाउँ चितवन ३ मा पनि राप्रपाले विजय हासिल गरेको छ । सोही प्रसंगलाई कोट्याउँदै अध्यक्ष नेपालले प्रचण्ड र आफुले रौतहट र गोरखा नरोजेको भए निर्वाचनमा पराजय भोग्नुपर्ने बताउनुभयो ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा २० सिट पाएको थियो । जसमध्ये १० जनाले मात्र चुनाव जितेका छन् । चुनाव जित्नेमा नेता नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा र अम्मरबहादुर थापा रहेका छन् । नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो । राष्ट्रिय दल नबने उहाँले संसदीय दलको कार्यालय, दलका नेता र सचेतकले पाउने सुविधा पाउने छैन ।