राजनीति

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित



काठमाडौँ, १७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भए । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरे । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भए । गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए । धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भए । रासस