राजनीति

सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जनाको जमानत जफत



डोटी, २४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुकाे जमानत जफत भएकाे हाे । सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएकाे चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जाेगिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको जानकारी दिएकाे छ । यहाँ प्रदेश सभा प्रत्यक्षतर्फ डडेल्धुरा प्रदेश सभा २ मा एमालेका गजेन्द्रबहादुर शाहीकाे जमानत जफत भएको छ । कुल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गर्नुभएकाे निर्वाचन कार्यालयले जनाएको छ । जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् । ।

बाजुरा प्रदेश सभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ ।