अर्थ

‘हाजिर नै नगरी तलब’



काठमाडौँ, २९ मंसिर । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भत्ता लिइरहेको पाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लामिछानेले २०७९ को असोज महिनाको हाजिर रजिस्टरमा ६ गतेसम्म बजार अनुगमन उल्लेख गर्नुभएको छ भने अन्य दिन केही नखुलाई असोज ३० गते मात्रै हाजिर गर्नुभएको छ। लामिछानेले त्यसपछि गत कात्तिक ३ गते हाजिर गरे पनि त्यसपछिका दिनमा उहाँले हाजिर गर्नुभएको छैन । स्वास्थ्य शाखाप्रमुख श्रेष्ठले गत वैशाख महिनादेखि असार महिनासम्म नियमित हाजिर गरे पनि साउन महिनाको १ र २ गते हाजिर गरेदेखि अहिलेसम्म हाजिर गर्नुभएको छैन ।

स्वास्थ्य शाखाका सिनियर अनमी सुवेदीले हाजिरमा केही कारण नखुलाई गत भदौ महिनादेखि अहिलेसम्म एक दिन पनि हाजिर गर्नुभएको छैन । नियमित हाजिर नभए पनि सबै कर्मचारीलाई गाउँपालिकाले असोज महिनासम्मको तलब भत्ता दिइसकेको छ । कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखले आफ्नो जिम्मेवारीमा रहेर नियमित काम गरिरहेको देखिए पनि हाजिर रजिस्टरमा आफ्नो हाजिर नगरेको पाइएको खाँडादेवी गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेलले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।