काठमाडौँ, १ पौष । आज बिहान तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान पौने ६ बजेको काठमाडौँको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ । जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ ।
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्