राजनीति

मेयर साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा



काठमाडौँ, १ पौष । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि आज पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् ।

१३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन । उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेका थिए ।

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी माग्दिन भनेपछि कार्यपालिका बैठक बस्न नसकेको छैन ।