झापा, २ पौष । झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङ जिल्ला बेलबारी नगरपालिका-८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी-१० निवासी ५८ वर्षीय शुक्रबहादुर तामाङलाई कुनै चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका- ५ निवासी ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्