काठमाडौँ, २ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन् । उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भने– ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र परिणाममुखि नागरिक जवाफदेही हुनुपर्दछ । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ । निर्माणाधीन सम्पदाहरूको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरूको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृतिक स्मार्ट सिटीको रुपमा विकास गर्न पनि सहयोग पुग्नेछ । प्राचित सभ्यता र संस्कृतिलाई यथावत् संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचीन र आधुनिक शहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन ।’










प्रतिक्रिया दिनुहोस्