काठमाडौं, १४ पुस। सत्तारुढ सात दलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मस्यौदाका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सवै दलका प्रतिनिधिसहितको समिति बनाइने निर्णय गरेको उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।
‘हामीले केका लागि सरकार बनायौँ भनेर देखाउका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एकरएक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ,’ गृहमन्त्री लामिछानेले भन्नुभयो ।
उहाँले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको बताउनु भयो । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने जानकारी पनि उहाँले दिनुभएको छ । लामिछानेका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो लागेको छैन ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी हुनुहुन्थ्यो । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेले बताउनु भयो । उहाँका अनुसार योग्यता र क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी बैठकमा भएको छ ।










प्रतिक्रिया दिनुहोस्