राजनीति

मन्त्री श्रेष्ठले ‘कामचोर कर्मचारी’लाई लगाम लगाउने: तलब काट्नेसम्मको योजना



काठमाडौँ, १९ पौष । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् ।

सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने बताए । मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताए । सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए । आफूले पाएको मन्त्रालयको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।

यस्तै श्रेष्ठले गुनासो सुन्न महिनाको एक दिन समय छुट्ट्याइएको जानकारी दिँदै त्यसमा आफू सहभागी भएर सबै समस्याहरुको सभाधान खोज्न पहल गर्ने बताए । यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ ।