समाचार

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते



बुटवल, २२ पौष । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग१ख ४९७७ नम्बरको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा गएराति मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।