भक्तपुर, २४ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतद्वारा इटबुं चोकदेखी वडा कार्यालय जाने सडक शिलान्यास गरिएको छ ।
निर्वाचनमा पराजित भएपछि आफु जनताको साथमा रही भक्तपुरको विकास र समृद्धिको नेतृत्व गर्नुभएका नेता बस्नेतले आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको इटबुं चोकदेखी चुनदेवी मन्दिर हुँदै वडा कार्यालयसम्म जाने सडकको शिलान्यास गर्नुभयो । नेता बस्नेतको विशेष पहलमा सहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा बहुवर्षे ठेक्का अन्तर्गत गत आर्थिक वर्षमा विनियोजित रु ४ करोडको लागतमा निर्माण शुरु गरिएको सडकको ६ मिटर चौडा विस्तार तथा स्तरोन्नतीका लागि विधिवत् रुपमा आज शिलान्यास गरी काम शुभारम्भ गर्नुभयो ।
वडा नं. ८ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेता बस्नेतले निर्वाचनमा गठबन्धनका कारण आफु हारे पनि भक्तपुरका जनताको माग, चाहना र आवश्यकता अनुसार अगाडी बढेका आयोजनाहरुलाई सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो । सूर्यविनायकमा एमालेको नेतृत्वकालमा नाटकीय ढंगले नमुना विकास गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत जिल्लाको विकासको नेतृत्व आफु र एमालेले नै नेतृत्व लिने जनतालाई विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सांसदको लागो लगाउन पाइन, सांसदको हैसियतले संसद भवन जान पाईन तर जनताको सेवा गर्न कसैले रोक्न सक्दैन । बाम गठबन्धनको नेतृत्वमा सरकार बनेको छ । जसको लागि मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । त्यसैले पनि २६ गते पछि पूर्णता पाउने सरकार बनेसँगै जनचाहना अनुसारको विकासको नेतृत्व म गर्नेछु ।’
सूर्यविनायक नगरपालिकालाई पूर्वाधासम्पन्न बनाउने योजनाका साथ अगाडी बढिएको जानकारी गराउँदै उहाँले पहुँचको आधारमा भक्तपुरको विकास नभई आवश्यकता र नेतृत्वको सकारात्मक पहलकदमीले बजेटको सिलिङ ऐतिहासिक रुपमा बढाएको बताउनुभयो । सत्ता र शक्तिको आडमा अघिल्लो सरकारले सरकारको ढुकुटी सेटिङले गर्दा धरासायी अवस्थामा रहेको उल्लेख गर्दै विगतका सरकारको पालामा जिल्लामा कांग्रेसलगायतका दलहरुले विकासको लागि बजेट ल्याउन सहयोगी भूमिका नरहेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष पुष्पराज बस्नेतले सभापतित्व गर्नुभएको कार्यक्रमको विशेष अतिथिको बागमती प्रदेश सभा सदस्य किरण थापाले गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्