राजनीति

हामी जनताको निगरानीमा छौँ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनताको निगरानीमा रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले निसर्त नभई ससर्त समर्थन गरेको बताए ।

आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै उनले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन् ।

प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताए । “जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ ।”