राजनीति

प्रतिनिधिसभासँग जनताको थुप्रै अपेक्षा छन् : सभापति देउवा



काठमाडौँ, २५ पौष । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पूरा कार्यकालका लागि सांसदहरुको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै १८ महिना अघि संसद् विघटन भएर विशेष परिस्थितिमा आफू प्रधानमन्त्री बनेपछि अघिल्लो प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्न पाएको भन्दै यसपटक पनि प्रतिनिधिसभाको पूरा कार्यकालनका लागि शुभकामना दिएका हुन् ।

उनले भने, “आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो । मेरो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समयमै सम्पन्न गरेको छ,” देउवाले भने, “यो काममा सहयोग गर्ने देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु ।”

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान संविधानसभाले पनि पूरा कार्यकाल काम गर्नु पाउनुपर्ने बताए ।सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेर आफ्ना भनाइ राखेका देउवाले वर्तमान प्रतिनिधिसभासँग जनताका धेरै अपेक्षा रहेको बताए । “यो प्रतिनिधिसभासँग जनताको थुप्रै अपेक्षा छन् । ती अपेक्षा पूरा गर्नु हामी सबैको कर्तव्य हो,” देउवाले भने, “जनताका अपेक्षा पुरा गर्न यो प्रतिनिधिसभा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”