समाचार

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा



काठमाडौँ, २७ पौष । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुस (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।

उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपातको छ ।