समाचार

राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै



काठमाडौँ, १ माघ । सरकारले पहिलो पटक यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदैछ । माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्त्वका आधारमा दिन छनोट गरी दिवस मनाउन लागिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जे–जस्ता कुरा उपभोग गर्छ, ती सबै कृषि जैविक विविधतासँग जोडिएका बताए । माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, सखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जन एवम् स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत् २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।