राजनीति

उच्च ओहदामा बसेका सवै व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्छ : ज्ञानेन्द्र शाही



काठमाडौँ, ५ माघ । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्ने बताएका छन् ।

अज प्रतिनिधिसभामा बोल्दै शाहीले अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताए । उनले भने, ‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौ । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु ।’

उनले वर्तमान संविधानको काम नभएको पनि बताए । ‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन् ? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन् ? यो विषयबस्तु बनेको छ’, शाहीले प्रश्न गर्दै भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौ युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । सरकार प्रमुख र माननीहरुले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’