समाचार

सुस्मिता केसी हत्या प्रकरण: सासू ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद



मकवानपुर, ७ माघ । मकवानपुरको हेटौंडा-४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो ।

उनका ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । सुस्मिताको २०७७ असार १ गते राती हेटौंडा उपमहानगरपालिका ४ कर्रा स्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउँको ससुराले पछाडीबाट लौरो जस्तो काठले हिकाएका थिए । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउँकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिईन् ।

असार २ गते घरको भान्सामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए ।