काठमाडौँ, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेकी छन् ।
उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहनुभएकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी हुन् ।
उनले भनिन् , ‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुसारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु सुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो ।’
उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताएकी छन् ।
गौतमले इन्दिरा रानालाई उपसभामुख बनाउने प्रस्ताव सदनमा पेश गरेकी छन् । इन्दिरा रानालाई प्रस्ताव गर्दै गौतमले भनिन्, ‘अन्धकारमा जीवन बिताइरहेका कयौं नेपाली बालबच्चालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनु हुने माननीय इन्दिरा राना यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्रै कदर भएको होइन। बरू सम्मानित उपसभामुख पद पनि शोभामान हुनु हो।’










प्रतिक्रिया दिनुहोस्