विश्व

टर्की भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या सात हजार नाघ्याे



एजेन्सी, २५ माघ । सिरियाको सीमा नजिकै टर्कीमा गत सोमवार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या सात हजार नाघेको छ ।

अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् । दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छण । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्नेछन ।