एजेन्सी, २८ माघ । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा धेरै पुगेको छ । गएको सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
यस्तै, १ सय ४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्