कास्की, २८ माघ । पोखरा महानगरपालिका–६, लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो ।
आज अपराह्न ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्रको सहायतामा आगो निभाउने प्रयास गरिँदै छ । वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंकको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटीएम मेसिन समेत छन् । सेलवेजमा आगलागीपछि सँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस










प्रतिक्रिया दिनुहोस्