समाचार

बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ जना घाइते



नुवाकाेट, ४ फागुन । जिल्लाको विदुर नगरपालिका–१२ मा आज बिहीवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरकाे बस विदुर–१२ चैनपुरकाे पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएकाे नुवाकोट प्रहरीले जनाएको छ ।