राजनीति

योगेशले भने– राष्ट्रपतिको प्रस्ताव प्रचण्डकै भएकाले सहमतिमा कुनै फेरबदल हुँदैन



काठमाण्डौ ६ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन्।
प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गरे।
उनले भने, ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन। हामीले बनाएका हौँ। नेपाली माटोबाटै उत्पादन भएको हो। यसमा कुनै रासायनिक मल राखेको छैन। तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं।

उनले थपे अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्नेबेलामा सुतिरहेका थिए। उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर। हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो। त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन्।’
भट्टराईले प्रचण्ड आफै एमालेलाई खोज्दै आएर गठबन्धन बनाएको बताए ।
उनले राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डकै भएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नभएको बताए ।
भट्टराईले एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिमा सबैको साझा उम्मेदवार हुने बताए ।
उनले भने, एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र गठबन्धन भित्र रहेका दलहरूको साझा उम्मेदवार हुने छ।