काठमाडौँ, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।
पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो । उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।
यसैगरी यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ । उक्त बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्