समाचार

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता रोकियो



काठमाडौँ, ११ फागुन । सरकारले काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले पाउँदै आएको प्रोत्साहन भत्ता रोकेको छ । चालु आर्थिक वर्षको साउनदेखि सरकारले उक्त भत्ता उपलब्ध गराएको छैन ।

०७६ वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका,०७५ लाई स्वीकृत गरेको थियो । सोही निर्देशिकाका आधारमा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको भत्ता १० प्रतिशतदेखि ४० प्रतिशतसम्म वृद्धि भएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म ट्राफिक प्रहरी जवान र हवल्दारले ४० प्रतिशत, असई र सईले २० प्रतिशत प्रोत्साहन भत्ता बुझेका थिए । इन्सपेक्टर र डीएसपीले १० प्रतिशत प्रोत्साहन भत्ता पाएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।