काठमाडौँ, ११ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।
आज मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए ।
उनले भने, ‘दोस्रो खण्ड चक्रपथ विस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसै अनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकालिसकेको छाै । बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भू अघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ।’










प्रतिक्रिया दिनुहोस्