समाचार

तेह्रथुमको डढेलो बस्तीमा पस्दा १४ घर जले, डढेलो फैलिन नदिन प्रयास चल्दै



तेह्रथुम, १३ फागुन । जिल्ल्लाको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडाको हात्तीखर्कमा लागेको डढेलोबाट बस्ती जोगाउन लागि अहिले पनि सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरिरहेका छन् । खैरेनी निबुटार जङ्गलमा सुरु भएको डढेलो बस्तीमा पस्दा हिजो १४ घर जलेर नष्ट भएका थिए ।

डढेलोबाट अरु बस्तीलाई जोगाउन नेपाली सेना, प्रहरी लगायत स्थानीयले रातभर प्रयास गरेका छन । झाडी रहेको जङ्गलमा डढेलो धेरै फैलिएकोले तत्काल नियन्त्रणमा गर्न कठिन भएकाले बस्ती जोगाउनका लागि प्रयास भइरहेको छ । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अरु बस्तीसमेत जोखिममा छन् । हिजो डढेलो पसेको बस्ती तामाङ समुदायको हो ।

बस्तीमा सबै घर खरले छाएका थिए । खरको छाना भएका घरहरुमा डढेलोको आगो पुगेपछि निभाउनै नसकिएको हो ।