राजनीति

मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए : सभामुख घिमिरे



काठमाडौँ, १९ फागुन । सभामुख देवराज घिमिरेले मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिएको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको बताए ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताए । उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए ।

उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शुन्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाएपनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताए । उनले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको बताए ।