अर्थ

दबाब सिर्जना गर्दैमा ऋण मिनाहा हुँदैन : डेपुटी गभर्नर मिश्र



काठमाडौँ, १९ फागुन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कार्यले समाज विभाजित हुने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेहरूले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरूले पैसा पाउन समस्या हुने बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन गर्न नहुनेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यवसायीले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरूसँग छलफल गरिरहेको बताए ।

पछिल्लो समय लघुवित्तको ब्याजबारे बाहिर आइरहेका विषयमा जानकारी रहेको बताए । डेपुटी गभर्नर मिश्रले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रूपमा घोषणा गरेको बताए । उनले सन् २०२३ को वर्ष भरलाई डिजिटल पेमेन्टको वर्षको रूपमा लिएको बताए ।