भक्तपुर, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् ।
शनिबार भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको भन्दै क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरेको बताएका हुन् । देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताए । इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै उनले जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको बताए । अध्यक्ष ओलीले विरोधी जमातले सङ्गठित र सक्रिय ढङ्गले सामाजिक सञ्जालबाट एकै पटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट नआत्तिन आग्रह गरे । सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगत्मा हाबी हुन बुद्धिजीवीहरूलाई ओलीको आग्रह छ ।
उनले भने, ‘दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ । यथार्थ त्यही हो । किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि । सय जना विरोधीले एकै पटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईँको विचारबाट उनीहरु आत्तिएर एकै पटक आक्रमण गर्न सङ्गठित ढङ्गले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् । उनीहरुले तपाईंको विचारलाई इगनोर गर्न सक्थे तर तपाईँको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इगनोर गर्न सक्दैनन् र सङ्गठित ढङ्गले हमला गर्छन् ।’










प्रतिक्रिया दिनुहोस्