काठमाडौँ, २१ फागुन । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नवीकरण समेत नभएको बताए । उनका अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ ।
कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ । हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको न्यौपानेले जानकारी दिए । वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने न्यौपानेको भनाइ छ । घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको उनको बुझाइ छ ।
‘निष्क्रिय खाता कायम राखेर संख्या मात्र बढाउनुको अर्थ छैन,’ उनले भने, ‘नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।’ नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खातामध्ये ३२ प्रतिशत निष्क्रिय हुनुको पछाडि एकै परिवारका धेरै सदस्यको नाममा खोलिएको हुनसक्ने अनुमान लगाए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्