समाचार

हत्यामा संलग्न आरोपमा एक जना पक्राउ



म्याग्दी, २२ फागुन । म्याग्दीको गलकोट नगरपालिका–९, अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरभन्दा पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भीरमा मृतावस्थामा फेला परेकी थिइन् । गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा घटनामा विकको संलग्नता देखिएपछि आइतबार प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

गलकोट–९, चुँदारा टोल बस्ने ४३ वर्षीय विकले हत्या गरेर गहरगहना समेत लुटी भीरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार अनुसन्धानका क्रममा विकले आफूले हत्या गरेको स्वीकार गरेका छन् । रासस