राजनीति

उपनिर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा १० नियम पालना गर्नुपर्ने



काठमाडौँ, २० चैत । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भोली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार र राजनीतिक दलले देहाय बमोजिमका कामकारवाही नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले १० वटा निर्देशन दिने निर्णय गरेको छ ।

१. निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने,
२. उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने,
३. उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,
४. उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,
५. उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,
६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने,
७. उम्मेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,
८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने,
९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने,
१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने ।