अर्थ

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव



पाँचथर, ३ बैशाख । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक गाउँपालिका–१ स्थित लामपोखरी सुकाधाप क्षेत्र ।

नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन् । प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन ।

महोत्सवको निरन्तरता
धेरै गुराँस पाइने भएका कारण एक दशकअघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो । लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो । तर यस वर्षबाट याङवरक–१ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ ।

नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रबार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए । आन्तरिक पर्यटक विशेषतः प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फुलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे । महोत्सवलाई निरन्तरता दिइएकामा उनीहरू उत्साहित र खुसी थिए । रासस