पाल्पा, ३ बैशाख । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर आइपुगेको हो ।
तत्कालीन नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले सो टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदल बुटवल पुग्ने योजना सेनाको छ ।
एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्गलगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।










प्रतिक्रिया दिनुहोस्