राजनीति

चोलेन्द्रको महाभियोग प्रस्ताव निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौँ, ६ बैशाख । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय गर्ने संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ स्थगित भएको छ । संवैधानिक इजलासमा परेको उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।

अघिल्लो संसद्को कार्यकाल सकिएसँगै मंसिर २० गते जबराले आफूविरुद्ध दायर भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । सो निवेदनको माग सम्बोधन गर्दै महासचिवले महाभियोग निष्क्रिय भएको पत्र मंसिर २१ गते जारी गरेका थिए ।

महासचिवको पत्र सर्वोच्च अदालत प्रशासनमा पेस भएसँगै सोही दिन सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीहरूले संयुक्त रूपमा पत्र असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए ।