काठमाडौँ, १२ बैशाख । सरकारले बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क दिने भएको छ ।
विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीईइसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउन लागिएको हो । अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा नेपालसँगै मंगोलिया, जिम्बाबे, युगान्डा र उज्बेकिस्तानलाई ६ वटा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि प्रदान गरिँदै छ । ।
नि:शुल्क दिन लागिएका औषधिहरू रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्युरोब्लास्टोमा) लगायतका ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि हुन् ।
जीआईसीसीले उपलब्ध गराएको औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रंमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । पहिलो चरणमा जीआईसीसीले सन् २०२४ को जुनसम्म नेपाललाई नि:शुल्क औषधि उपलब्ध गराउनेछ । त्यसका लागि यही अप्रिल १४ मा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटल पुगेर स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोलीले जीआईसीसीसँग सम्झौता गरेको थियो ।
३५ प्रकारका औषधि नेपालमा आगामी सेप्टेम्बरदेखि दिनेगरी ल्याउन लागिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले बताए । नेपालमा यसअघि ती औषधि दर्ता नभएकाले सेप्टेम्बरसम्ममा औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोजनका लागि अनुमति लिनुपर्नेछ । कान्ति बाल अस्पताल, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट नि:शुल्क औषधि प्रदान गरिनेछ । डा. बसौलाका अनुसार औषधि टेकुस्थित भण्डारण केन्द्रमा राखी आवश्यकता अनुसार अस्पतालमा वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्