राजनीति

उपनिर्वाचन परिणाम: पुराना दलप्रति जनता आजित भएको संकेत



काठमाडौँ, १४ बैशाख । प्रतिनिधि सभाको वैशाख १० गते भएको उपनिर्वाचन परिणामले पुराना र स्थापित राजनीतिक दलप्रति सर्वसाधरण आजित भएको संकेत गरेको छ ।

प्रजातन्त्र आएको साढे तीन दशकसम्म पालैपालो सत्तामा पुगे पनि मुलुकको आर्थिक विकास र सेवा प्रवाहमा ठूलो दल चुकेका छन् । फलस्वरुप बेरोजगार बन्न बाध्य भएका लाखौं युवा रोजगार खोज्दै खाडीमा जान विवश भएका छन् । वार्षिक बजेटमा लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने भनिए पनि कहिल्यै पूरा हुन सकेको छैन ।

पुराना दलहरुले युवालाई खाडी मुलुक (वैदेशिक रोजगार) मा पठाएर आउने रेमिटेन्सबाट देश सञ्चालन गर्ने जुन अर्थनीति अगिकार गरेका छन्, त्यसको विरोधस्वरुप नयाँ दलप्रति सर्वसाधरणको आकर्षण देखिएको हो । तीन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले भारी मतान्तरसहित जित हासिल गर्नुको पछाडि पुराना दलको यहि खाडी अर्थनीति कारक हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।