राजनीति

‘नेपालमै बनाउने, नेपालकै लगाउने’ अभियान ल्याउन राष्ट्रिय युवा संघको माग



काठमाडौँ, १५ बैशाख । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले ‘नेपालमै बनाउने, नेपालकै लगाउने’ अभियान ल्याउन सरकारसँग माग गरेको छ ।

सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ प्रति विरोध जनाउँदै संघका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको गठबन्धन सरकार जनताको जनजीविकाको सवालमा काम गर्दैन तर आफ्ना कार्यकर्ता पोस्न अनेक बहाना बनाउँदै राज्यलाई टाट पल्टाउन तल्लिन रहेको भन्दै संघले आज उक्त कायृको विरुद्ध अर्थमन्त्रीलाई ज्ञापन पत्र बुजाएको हो ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा। महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालु आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताए । ‘अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन,’ अर्थमन्त्री महतले भने, ‘बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनुपर्छ । म आइसकेपछि कुनै निर्णयमा म संलग्न छैन । मलाई योबारे जानकारी नै छैन ।