काठमाडौँ, १७ बैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन् ।
आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका खनालले पुनका मागहरू गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुङ्गो लगाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुङ्गोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो । तर अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसद्मा पनि छैन, सरकारमा पनि छैन । पार्टी मात्रै सरकारमा छ । पार्टीका नेताहरू बसेर एक आपसमा छलफल गर्नुपर्ने आवश्यकता म देख्छु । कुनै पनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्न सक्छ । अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई नवप्रवर्तनका कुरालाई अघि बढाउँछौँ भनेर उहाँले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएर अघि बढ्न जरुरी छ । गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो । यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्न सक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरू बहिर्गमनमा जाने खतरा पैदा भएको बताए ।










प्रतिक्रिया दिनुहोस्