चितवन, १९ बैशाख । राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो ।
केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४० घडियाल छन् ।
“निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर छाड्ने गरिएको छ”, उनले भने, “अहिले प्रजनन केन्द्रमा तीन सय सात नयाँ जन्मिएका, ७२ एक वर्ष उमेर समूहका, एक सय ८७ किशोरावस्थाका, ४१ उपवयस्क र ३३ वयस्क घडियाल रहेका छन् ।”
यस केन्द्रमा हुर्किएका घडियाललाई निकुञ्जले बर्सेनि राप्ती, नारायणी नदीमा छाड्ने गरेको छ । प्रजनन केन्द्रमा हुर्किएका घडियालहरू निकुञ्जले हालसम्म देशका अन्य नदीहरू सप्तकोशी, बबई, कर्णाली र कालीगण्डकीमा लगेर प्राकृतिक बासस्थानमा छाडिसकेको अधिकृत तिवारीले बताए ।
उनका अनुसार १९८१ बाट हालसम्म एक हजार आठ सय ५२ घडियाललाई प्रजनन केन्द्रमा हुर्काइएर प्राकृतिक बासस्थानमा छाडिएको छ । “प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्तीमा एक हजार एक सय ३२, नारायणीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय १०, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा घडियाल छाडिएको छ”, उनले भने, “अहिले कालीगण्डकी नदीमा घडियाल भेटिएको छैन । सप्तकोशीमा गत वर्ष केही घडियाल देखिएको थियो भने अन्य नदीमा घडियाल सहजै देख्न सकिन्छ ।”










प्रतिक्रिया दिनुहोस्