समाचार

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने पक्राउ



काठमाडौँ, १९ बैशाख । अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सत्याललाई पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारेको प्रहरीको भनाई छ । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ । कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।