Banner News

ढुंगामुढा गर्नेमाथि ओलीको व्यङ्ग्य–भलाद्मी काम गर्नुभयो



काठमाडौँ, १९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुंगामुढा गर्नेमाथि व्यङ्ग्य गरेर भलाद्मी काम गरेको टिप्पणी गरेका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कथित बुद्धिजीवी समेत हिंसालाई बढाउन लागिपरेको आरोप लगाउँदै आफू आश्चर्यमा परेको बताए ।

‘ग्रास रुटको अवस्था के कस्तो भयो भनेर बुझ्नु थियो, केही जिल्लामा हेर्ने भनेर निस्किएको थिएँ । केही भलाद्मी मान्छे भन्नु पर्ला, ढुङ्गा हान्नेलाई भलाद्मी भन्ने त होला नि ? भलाद्मीहरूले गुण्डागर्दी गर्नुभयो भन्न पनि मिलेन । मलाई ढुङ्गा हानेर भलाद्मी काम गर्नुभयो’ ओलीले कटाक्ष गरे, ‘ढुङ्गा हानेको विषयमा विभिन्न समर्थनहरू निस्कन थाल्यो ।’

उनले बुद्धिजीवीहरूले हिंसा र ढुंगामुढा गर्नु गलत थियो सम्म भन्न समेत नसकेको बताए । उनले भने, ‘बुद्धिजीवीले युट्युबमा भँडास पोखेका छन् । उनलाई उहिल्यैदेखि मन परेको थिएन । हाम्रो राष्ट्रियताको पक्षमा लडाई, सुशासन, विकास र शान्तिप्रति प्रतिबद्धता मन परेको थिएन ।’ आफूलाई बुद्धिजीवी भन्न रुचाउनेले ढुंगामुढा र हिंसाको राजनीति ठिक भएन भन्न नसक्नु आश्चर्यजनक भएको ओलीले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सवै तत्वहरु विरोधमा उत्रेको बताएका हुन् । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।

‘हाम्राविरुद्ध प्रतिकृयावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिजाउने काम गरेको छ’, अध्यक्ष ओलीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसावकिताव होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ । साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’