राजनीति

माओवादीको व्यवहारले मर्माहत भएका छौं : अध्यक्ष नेपाल



सुर्खेत, २० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् ।

सुर्खेतमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् । उनले भने, ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’ उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।